काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मङ्गलबार जारी गरेका हुन्। सरकारले जस्ताकोतस्तै जारी गर्न पुन: सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्ले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । राष्ट्रपतिले फिर्ता पठाए लगत्तै सरकारले पुनः अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि उनले मङ्गलबार जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
जारी अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ ।अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने व्यवस्था छ ।योसँगै सरकारबाट सिफारिस भएका आठै अध्यादेश राष्ट्रपतिबाट जारी भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले विगतमा संसद्ले पारित गरेको विधेयक भन्दा फरक खालको भएको तर्क गर्दै यथावत् रुपमा जारी गर्न पत्र पठाएपछि राष्ट्रपति पौडेलले मंगलबार अध्यादेश जारी गरेका छन् ।


0 comment