विराटनगर | मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले क्याफे तथा रेस्टुरेन्टहरूमा विद्यार्थीहरूले धूम्रपान र हुक्का सेवन गरेको भेटिए कडा कानुनी कारबाही गरिने चेतावनी दिनुभएको छ।
पछिल्लो समय विद्यालय र कलेज पोशाकमै विद्यार्थीहरू विभिन्न क्याफेमा बसेर हुक्का र चुरोटमा झुम्मिने गरेको गुनासो बढेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको हो

विद्यालय वा कलेजको पोशाकमा रहेका विद्यार्थीहरूलाई क्याफेमा चुरोट वा हुक्का सेवन गर्न दिनु गैरकानुनी हो। यस्तो गरेको पाइएमा विद्यार्थी मात्र नभई सञ्चालकलाई पनि तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने मोरङ्ग प्रहरी प्रमुख कटवालले बताउनु भएको छ।

जिल्लाका विभिन्न क्याफे तथा रेस्टुरेन्टहरूमा प्रहरीले सादा पोशाकमा समेत निगरानी बढाएको र आकस्मिक सर्च अपरेशन सुरु गरिएको उहाँले जानकारी दिनुभयो।

व्यापार गर्ने नाममा भविष्यका कर्णधार विद्यार्थीहरूलाई कुलततर्फ धकेल्न सहयोग पुऱ्याउने क्याफे सञ्चालकहरूमाथि कुनै पनि बहानामा सम्झौता नगरिने प्रहरीको अडान छ।

 आफ्ना छोराछोरी विद्यालय वा कलेज गए-नगएको र उनीहरूको गतिविधि कस्तो छ भन्ने कुरामा चनाखो रहन एसपी कटवालले अभिभावकहरूलाई समेत अपिल गर्नुभएको छ। विद्यार्थीहरूलाई कुलतबाट जोगाउनु प्रहरीको मात्र नभई समाज र व्यवसायीको पनि उत्तिकै दायित्व हो। नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनी कठघरामा उभ्याइने प्रहरी प्रमुख कटवालले बताउनु भयो।