मोरङमा  युवकलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको घटना सार्वजनिक भएको छ। रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतबाट बीआर३८एडी ५३८० नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका मियाँलाई शंकाको आधारमा रोक्न खोजिएको थियो। तर उनले प्रहरीको संकेत अटेर गर्दै मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले बाध्य भएर हवाई फायर गरेको जनाएको छ।

हवाई फायरपछि उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। पक्राउ परेका मियाँको साथबाट कालो प्लास्टिकभित्र पाँच वटा पोका बनाएर लुकाइएको ४७५ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

घटनापछि प्रहरीले उक्त पदार्थ लागूऔषध भएको आशंकामा थप अनुसन्धान अघि बढाएको छ। साथै, यस घटनाले सीमा क्षेत्र हुँदै भइरहेको लागूऔषध तस्करीको जोखिम र सक्रियता पुनः उजागर गरेको छ।
प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी कडा पारिएको र संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख कबित कटुवालले जानकारी दिनु भयो ।