कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा पर्यटकलाई लक्षित गरी भइरहेका अनैतिक गतिविधि र ठगीका घटनामा संलग्न १६ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले आइतबार राति विशेष अपरेसन सञ्चालन गर्दै साढे १२ बजेदेखि २ बजेसम्मको समयमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पछिल्लो समय लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई प्रलोभनमा पारेर दुःख दिने र रकम असुल्ने घटनामा वृद्धि भएपछि निगरानी कडा पारिएको थियो। सोही क्रममा गरिएको अपरेसनबाट संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये केही यसअघि पनि यस्तै गतिविधिमा संलग्न भइसकेका 'पटके' अभियुक्त रहेको जानकारी प्रहरीले दिएको छ।
अनुसन्धानका क्रममा उनीहरूले पर्यटकसँग विभिन्न बहानामा नजिकिने, अनैतिक सम्बन्धको प्रस्ताव राख्ने र पछि धम्की वा डर देखाएर रकम असुल्ने गरेको खुलेको छ। कतिपयले होटल नजिक पुऱ्याएपछि 'श्रीमान् आयो' भन्ने बहानामा रकम लिएर भाग्ने तरिका अपनाउने गरेको समेत पाइएको छ।
पक्राउ परेकामध्ये १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई प्रहरीले पुनर्स्थापना केन्द्र पठाएको छ भने अन्यविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा अघि बढाउने तयारी भइरहेको जनाएको छ। केहीलाई भने अभिभावकको जिम्मा लगाइने बताइएको छ।
लेकसाइड क्षेत्रमा बढ्दो विकृति नियन्त्रण गर्न प्रहरीले 'क्लिन लेकसाइड' अभियान सुरु गरेको छ। यसअन्तर्गत गुण्डागर्दी, ठ गी तथा असामाजिक गतिविधिविरुद्ध कडाइ गरिएको छ।
प्रहरी अधिकारीहरूले पर्यटकीय क्षेत्रको छवि जोगाउन यस्ता गतिविधिमा संलग्नलाई कुनै पनि हालतमा नछोडिने स्पष्ट पारेका छन्। साथै, स्थानीयवासीसँग समेत शान्ति सुरक्षा कायम राख्न सहयोगको अपिल गरिएको छ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्किले जानकारी दिनु भयो।



0 comment