काठमाडौं - गृहमन्त्री सुधन गुरुङ को पछिल्लो अभिव्यक्तिप्रति जेन-जी अगुवा रक्षा बमले आपत्ति जनाएकी छन्। उनले गरिब तथा संघर्षशील नागरिकको सम्मान गर्न सरकारलाई सचेत गराएकी हुन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले आर्थिक अवस्थाका आधारमा व्यक्तिको जीवनलाई ‘गलत’ ठान्ने प्रवृत्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गरिन्।

यसअघि मन्त्री गुरुङले सामाजिक सञ्जालमै लेख्दै, “तिमी जन्मिँदा गरिब हुनु तिम्रो गल्ती होइन, तर मर्दा पनि गरिब हुनु तिम्रो गल्ती हो,” भन्ने अभिव्यक्ति दिएका थिए। साथै, उनले सरकार बाहिर हुँदा कमाएको सम्पत्तिलाई गलत नठान्नुपर्ने तर सत्तामा रहँदा भ्रष्टाचार गरेर कमाउनु अपराध हुने उल्लेख गरेका थिए।

मन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै बमले जनतालाई नै दोष दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यविपरीत असर पार्ने बताइन्। उनले गरिबीलाई व्यक्तिको असफलता वा ‘गल्ती’ को रूपमा व्याख्या गर्नु अनुचित भएको उल्लेख गरिन्।

“आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न कति बेर लाग्ला?” भन्दै उनले सामाजिक सञ्जालमा प्रश्न उठाएकी छन्। साथै, आर्थिक रूपमा कमजोर वर्गप्रति यस्तो धारणा राख्नु जिम्मेवार पदमा रहेका व्यक्तिका लागि अनुपयुक्त हुने उनको भनाइ छ।

बमले गृहमन्त्रीलाई समयमै आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले संवेदनशील विषयमा विचार व्यक्त गर्दा सचेत हुनुपर्नेमा जोड दिएकी छन्।