काठमाडौं - सरकारले कार्यालयको कामलाई छिटोछरितो, पारदर्शी र उत्तरदायी बनाउन भोलिदेखि ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल विक) सुरु गर्ने भएको छ । भोलिदेखि वैशाख ७ गतेसम्म सो अभियान सुरु गर्न लागिएको हो । 

यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृतसमेत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायत अन्य फाइल विभिन्न तह र टेबुलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने लगायतका प्रवृत्तिले सेवा प्रवाह प्रभावित हुने अवस्था निराकरण गर्नका लागि सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह’ सुरु गर्न लागिएको जानकारी दिए ।

मार्गदर्शनमा उल्लेख गरिएबमोजिम काम नगर्ने कार्यालय प्रमुख वा कर्मचारीलाई विभागीय कारबाही गरिने उनले स्पष्ट पारे । हरेक कार्यालयले स्पष्ट रूपमा वा देखिने गरी कुन फाइल कहाँ कसको जिम्मामा, कति दिनदेखि रहेको छ भन्ने विवरण दैनिक रूपमा अद्यावधिक गर्नुपर्ने छ ।