काठमाडौं - कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचनसँग सम्बन्धित आर्थिक लेनदेनको आरोपले सुदूरपश्चिमको राजनीति तातेको छ। नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले नेकपाका उम्मेदवार प्रेमबहादुर आले मगरले कांग्रेसका ५७ जना नेता–कार्यकर्तालाई पैसा बाँडेको सूची आफूलाई दिएको दाबी गरेपछि विवाद चुलिएको हो।
शाहको उक्त अभिव्यक्तिपछि नेपाली कांग्रेस कैलालीले उनलाई सूची सार्वजनिक गर्न दबाब दिएको छ। सोमबार जारी विज्ञप्तिमा कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले आरोप गम्भीर भएको भन्दै स्पष्ट पार्न र जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।
यता नेकपाका उम्मेदवार प्रेमबहादुर आलेले भने आरोप अस्वीकार गरेका छन्। उनले आफूले कसैलाई पैसा नबाँडेको दाबी गर्दै शाहको भनाइलाई गलत प्रचारको संज्ञा दिएका छन्। साथै, यदि आफूले सूची दिएको प्रमाण छ भने सार्वजनिक गर्न उनले चुनौती दिएका छन्।
यसअघि सार्वजनिक भएको एक भिडियो संवादमा शाहले निर्वाचनपछि तेस्रो स्थानमा आएका आलेमगरले आफूलाई भेटेर कांग्रेसका केही नेता–कार्यकर्ताले आर्थिक सहयोग लिएको जानकारीसहित सूची दिएको बताएका थिए। उनले सूचीमा रहेका व्यक्तिहरू पार्टीका जिम्मेवार पदमा रहेको पनि उल्लेख गरेका थिए, तर सूची भने सार्वजनिक गरेका छैनन्।


0 comment