काठमाडौं: ग्लोबल आईएमइ बैंक लिमिटेडमा भएको करोडौँ भ्रष्टाचारमाथि अनुसन्धान गरिरहेको नेपाल राष्ट्र बैंकले आर्थिक अनियमितता गर्ने कर्मचारीसहित बैंकका सिईओ र डेपुटी सिईओलाई स्पष्टीकरण सोधेको छ।

बैंकका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलले श्रीमतीका नाममा कम्पनी खडा गरी मासिक लाखौँ रुपैयाँ असुल गर्दै आएको तथ्यसहित उजुरी परेपछि अनुसन्धान सुरु गरिएको हो। नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रारम्भिक प्रक्रियाअनुसार पोखरेल र बैंकका अन्य उच्च अधिकारलाई बोलाएर स्पष्टीकरण सोधेको छ।

साथै, बैंकको नियमित सुपरिवेक्षणका क्रममा कैफियत भेटिएकोले सबैलाई लिखित स्पष्टीकरण दिन भनिएको छ। बैंकका गुनासो अधिकारी अनिल जोशीका अनुसार, अनियमितता भेटिएमा निलम्बन र अपराधको प्रकृति देखेर केन्द्रिय अनुसन्धान व्युरोलाई पत्राचार गरी पक्राउ गर्न सिफारिस गर्नेसम्मका कदम उठाइनेछन्।

हाल पोखरेल र उनकी श्रीमती बैंकमा काम गरिरहेका छन्, र पोखरेलको सम्बन्ध बैंकका अध्यक्ष चन्द्र ढकालसँग भएकोले उनलाई कारबाही गर्न कठिनाइ भएको भनाइ छ। यस परिप्रेक्ष्यमा नीति र कानून अनुसारका निर्देशिकाहरूलाई ध्यानमा राख्दै दोषीलाई कडा कारबाही गरिने निश्चित बताइएको छ।