काठमाडौं - नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर जाने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले थापालाई भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा होमिने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए । 

उनले भने, ‘देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो ।’ शर्माले बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए ।

यसैबीच सभापति थापाले अर्को निर्वाचनदेखि अहिलेको जसैगरी उम्मेदवार छनोट नहुने बताएका छन् । विभिन्न कारणले उम्मेदवार छनोटका लागि समय नपुगेकाले केही त्रुटि भएको हुन सक्ने थापाले स्वीकारे ।  अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन,’ थापाले भने‘उम्मेदवार त्यहीँको पार्टीको सदस्यले मतदान गरेर तलै चयन हुन्छ ।’ अप्ठेरोलाई बुझिदिनुहुन पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा रहेको वैधानिकताको परीक्षण, अदालतभित्र विषयको प्रवेशले गर्दा नयाँ कार्यसमितिलाई उम्मेदवार छनोट गर्न सकस परेको थियो ।