काठमाडौ : प्रहरीले लागु औषध खैरो हेरोइन तथा बाह्र लाख एकासी हजार नगद सहित १ जना नियन्त्रणमा लिएको छ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटी स्थित टंकेश्वरमा केही व्यक्तिहरुले लागु औषध बिक्री वितरण तथा ओसार पसार गर्ने कार्य गरी रहेका छन् भन्ने खबर पश्चात तत्काल बृत कालिमाटीबाट सादा पोशाकको टोली उक्त स्थानमा खटिएको थियो । प्रहरीले जिल्ला मकवानपुर ईन्द्रसरोवर गाउपालिका वडा नं. ५ स्थायी घर बताउने वर्ष ३० को सुरोज नगरकोटीलाई पक्राउ गरेको हो ।

 नगरकोटीको डेरा कोठामा रितपूर्वक खानतलासी गर्दा निजको डेरा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोइन ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल, जम्मा नगद रु. १२ लाख ८१ हजार  लागु औषध राख्न प्रयोग गरेको स्टिलको बट्टा थान ४ र iPhone मोबाइल थान १ फेला परेको थियो।

 साथै  सो iPhone मोबाइल चेकजाँच गर्दा लागु औषध कारोवार सम्बन्धी विभिन्न व्यक्तिहरुसँग कुराकानी गरेको म्यासेज समेत देखिएको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि बृत कालिमाटीमा राखी थप अनुसन्धान भईरहेको ।