काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ्ले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी दिने भएका छन्। विगत २० वर्षदेखि बौद्ध महांकाल क्षेत्रमा बस्दै आएका घिसिङ्ले यही क्षेत्रलाई आफ्नो राजनीतिक कर्मथलो बनाउने निर्णय गरेका हुन्।
उम्मेदवारीको तयारीसँगै घिसिङ्ले शनिबार काठमाडौं–३ का बुद्धिजीवी, समाजसेवी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूसँग राय–सुझाव लिएका छन्। छलफलका क्रममा सहभागी बौद्धिक व्यक्तित्वहरूले जनताले अब भाषणमुखी होइन, नतिजामुखी नेतृत्व खोजेको उल्लेख गर्दै विगतका राजनीतिक दल र तिनका नेताभन्दा फरक ढंगले अघि बढ्न सुझाव दिएका थिए। काठमाडौंका अन्य निर्वाचन क्षेत्रमध्ये यो क्षेत्र निकै महत्वपूर्ण मानिने गरिएको छ।
सबैको सुझाव सुनेपछि घिसिङ्ले उज्यालो नेपाल पार्टी देशको समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर ‘तीन खम्बे नीति’का साथ अघि बढेको स्पष्ट पारे। आफूलाई राजनीति गर्ने खासै रहर नभए पनि बाध्यात्मक परिस्थितिका कारण राजनीतिमा आउनुपरेको उनले बताए। उनले भने, ‘नेतृत्वमा पुग्ने बाटो त पोलिटिक्स नै रहेछ। पोलिटिक्स एउटा माध्यम हो, जहाँबाट नेतृत्वमा पुगेर डेलिभरी दिन सकिन्छ। वास्तवमा हामी राजनीति गर्न आएका होइनौँ, बाध्यताका कारण राजनीति गर्नुपर्यो।’
घिसिङका अनुसार अबको निर्वाचनमार्फत नयाँ र वैकल्पिक शक्तिहरू आउनुपर्छ भन्ने जनचाहना बढ्दो रहेकाले सहकार्यका विषयमा पनि छलफल भइरहेको छ। उनले भने, ‘आगामी दिनमा उज्यालो नेपाल पार्टीले एउटा मानक बनाएर त्यसलाई निरन्तरता दिनेछ। एक दिन यो पार्टीलाई नेपालको नम्बर एक पार्टी बनाएर देशका सबै क्षेत्रमा नेतृत्व दिनेछौँ।’
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले सम्पन्न मानिने काठमाडौं–३ क्षेत्रमा बागमती नदीको उद्गमस्थल बागद्वार पनि पर्दछ। फोहोर बनेको बागमती नदीलाई नुहाउन मिल्ने बनाउने प्रतिबद्धता जनाउँदै घिसिङ्ले नदी सफाइका लागि आफूसँग स्पष्ट मास्टर प्लान रहेको दाबी गरे। उनले भने, ‘जबसम्म बागमतीलाई सफा गर्न सक्दैनौँ, यो क्षेत्र पनि सफा हुँदैन।’
पुरानो नेतृत्वप्रति जनविश्वास घट्दै गएको उल्लेख गर्दै घिसिङ्ले जनताले विश्वास नगर्ने नेतृत्वलाई विस्थापित गर्नु आजको आवश्यकता भएको पनि बताए।
यसैबीच, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं–३ निर्वाचन कमिटीका संयोजक कुमारराज सुवेदीले यस क्षेत्रले कुलमान घिसिङजस्तो राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवारका रूपमा पाउन लागेकोमा खुशी व्यक्त गरे।
समृद्धि, सुशासन र सामाजिक न्यायका लागि पार्टी स्थापना भएको उल्लेख गर्दै उज्यालो नेपाल पार्टी जनताको भरोसा र विश्वासको पार्टी भएको उनको भनाइ थियो।
जापानका लागि पूर्वराजदूत गणेश योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी माया डोल्मा लामालगायत विभिन्न पेशा र व्यवसायका बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


0 comment