काठमाडौं - नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार आयोगमा पुगेर दल दर्ता गराएका हुन्। शनिबार मात्रै केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने निर्णय गरेको थियो।
यता भदौ २४ गतेसम्म सत्ता साझेदार रहेको नेकपा एमालेले भने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न अझै बाँकी छ, यद्यपि राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भइसकेको छ। संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै एमालेले पुनःस्थापनाका लागि हस्ताक्षर संकलन र न्यायिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि महेश बर्तौला र सुनिता बराललाई सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न खटाइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष निर्वाचनको वातावरण नबनेसम्म चुनाव हुन नसक्ने जिकिर गर्दै आएका छन्। उपमहासचिव प्रदीप ज्ञवालीले पनि निर्वाचनमा जान तयार भए पनि वातावरण निर्माण अनिवार्य भएको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयसीमा आयोगले मंसिर १० गतेसम्म तोकेको छ।



0 comment