काठमाडौं - सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयवासीले फोहोर फाल्न दिन सहमति जनाएका छन्।
फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि निष्कर्ष ननिस्केपछि मन्त्री घिसिङ आइतबार बिहान स्वयम् बञ्चरेडाँडा पुगेका थिए।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले विगतमा गरिएका सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘मन्त्रीज्यूले अहिलेसम्म भएका र हुन नसकेका सबै सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने आश्वासन दिनुभयो। कुनै कारणले सो अवधिभित्र पनि माग पूरा हुन नसके स्थानीयले विरोध गर्न पाउने अधिकार उहाँले स्वीकृत गर्नुभएको छ।’
स्थानीयको अवरोधका कारण गएको पाँच दिनदेखि काठमाडौं महानगरपालिकाले फोहोर फाल्न सकेको थिएन। विभिन्न माग राख्दै स्थानीयले फोहोर व्यवस्थापन रोक्दा राजधानीमा पुनः फोहोर संकटको अवस्था सिर्जना भएको थियो। अब मन्त्रीको आश्वासनअनुसार सहमति कार्यान्वयनका काम अघि बढ्ने र राजधानीको फोहोर व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।


0 comment