काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले नयाँ नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। विप्लवले आफ्नो पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरेका छन् । पार्टीबाट अनुमोदन गरी उक्त प्रस्ताव अनुसार दल दर्ताका लागि नेताहरूले आयोगमा निवेदन दिएका हुन् ।
नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘कर्णजित बुढा’ लगायतका नेताहरूको टोलीले आयोगमा पुगेर दल दर्ताको निवेदन दर्ता गराएको हो ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोजित पत्रकार सम्मेलनमा प्रकाण्डले क्रममा आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरे ।
प्रवक्ता विश्वकर्माका अनुसार आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने उद्देश्यसहित दल दर्ताको प्रक्रिया अघि बढाइएको हो । उनले भने, ‘हाम्रो पार्टी अब चुनावमार्फत राजनीतिक यात्रामा अगाडि बढ्न चाहन्छ ।’
निर्वाचन आयोगले प्राप्त निवेदन अध्ययन गरेर निर्णय गर्नेछ । आयोगले प्रस्ताव गरिएको नाम, चुनाव चिन्हलगायत विषयमा निर्णय गरेपछि मात्र दलले आधिकारिकता पाउनेछ ।
हालसम्म आयोगमा १२४ दल दर्ता भइसकेका छन् भने विप्लव नेतृत्वको पार्टीसहित १७ दलले नयाँ दर्ताका लागि निवेदन दिएका छन् ।
प्रवक्ता विश्वकर्माले दलको चुनाव चिन्हका रूपमा ‘लालीगुँरास’ माग गरिएको बताए । उनले भने, ‘हामीले लालीगुँरास चिन्हको प्रस्ताव गरेका छौं । यदि त्यो नपाए अरु विकल्पमा जाने तयारी पनि छ ।’ निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने अन्तिम म्याद यही कात्तिक ३० गतेसम्म तोकिएको छ ।


0 comment