राष्ट्रिय मातृभूमि पार्टीले विपिन जोशी विदेशी भूमिमा असुरक्षित नेपाली युवाको दर्दनाक नियतिको नमूना भएको जनाएको छ । 

जोशीको शव इजराएलबाट काठमाडौं आउँदै गर्दा पार्टीका अध्यक्ष रामशरण पाण्डेको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, "बौद्धिक सनातन सत्य "कृषि मूलश्चः जीवन्" भन्ने तथ्यलाई शिरोधार्य गरी वैतडी जिल्लावासी विपिन जोशी Earn and Learn कार्यक्रम अन्तर्गत कृषिको आधुनिकीकरणका लागि दक्ष विशेषज्ञको अध्ययन निम्ति मित्रराष्ट्र इजरायलमा विगत दुई वर्ष अगाडि गएका र अध्ययनरत रहँदा इजरायल-हमास युद्धको क्रममा निधन भई आज शव नेपाल आइपुगेको घटनाक्रमले राष्ट्रिय मातृभूमि पार्टी स्तब्ध भएको छ। दुःख र पीडाको यस क्षणमा मृतात्माप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली सहित शोकाकूल पीडित परिवारप्रति हृदयदेखि हार्दिक समवेदना व्यक्त गर्दछौं ।

आफ्नो देशमा कृषिजन्य उत्पादन र उद्योगको उज्वल भविष्य देखेर आफूले आर्जन गरेको ज्ञान, सिपले स्वदेशमा रहने नेपालीलाई उद्यमी बनाउने आकांक्षा लिएका स्व. विपिन जोशी नेपाली मात्रका प्रेरणाका श्रोत हुन् । नेपाली मौलिक उत्पादन विश्वमा सगुनको रुपमा निर्यात गर्ने र विदेशमा युवाले पसिना बगाउने होइन देश भित्र नै रोजगारीका पर्याप्त अवसर छन् भन्ने यस पार्टीले वोकेको नेपालवादको मूल उद्देश्य पनि हो । इजरायल र हमासको युद्धमा प्रहार गरिएको बमको निशानावाट अरु नेपालीको जीवन बचाउने मानवतावादी आँट देखाउँदै अगाडि सरेको बेला अपहरणमा परेर आफ्नो इहलिला समाप्त पारेका स्व. विपिन जोशी संसार समक्ष नेपाल र नेपालीको कीर्तिमानी, गौरवशाली साहस र वीरता कायम राख्न सफल भएका छन् ।

बाध्यताले विदेशिएर वैदेशिक रोजगारीमा जाने युवा र नेपाली प्रवासी (Diaspora) ले हृदयमा उनलाई स्मरण गर्दै नेपाली कृषिजन्य उत्पादनलाई वैज्ञानिकी र आधुनिकीकरणको माध्यमद्धारा बढावा दिन एक आपसमा होस्टेमा हैंसे गरी ठुलो लगानी गर्नु जरुरी छ । नेपाल सरकारले कृषि नीति बनाउँदा पनि नेपालवादको मूलमर्म र विपिन जोशीको सम्झना गर्न कदापि विर्सन हुन्न । उनको नाममा कृषि फर्म, बागवानी र छात्रवृत्ति कोष खडा गरेको खण्डमा उनलाई सदैव सम्झना गरी प्रेरणा लिएर अगाडि बढ्‌ने बाटोमा हिडिरहन सक्नु नै उनीप्रतिको सच्चा हार्दिक श्रद्धाञ्जली सावित हुनेछ ।"