काठमाडौं - हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी आईसीआरसीले इजरायली सेनालाई जिम्मा लगाएको छ ।

त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । अहिले उनको शव सैनिक अस्पतालमा राखिएको छ ।

हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुने दुताबासले जनाएको छ । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुनेछ ।

इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरू मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

त्यसयता उनको अवस्था अज्ञात थियो ।

इजरायल र हमासबीच युद्धविराम भएपछि आज बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव आज नै हस्तान्तरण गरेको थियो । 
इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका १६ जना नेपाली विद्यार्थी आक्रमणमा परेका थिए । आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।

उनीहरू सबै गाँजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।