काठमाडौं - जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै चौधरी ग्रुपले सहिद परिवारका सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
बुधबार जारी प्रेस विज्ञप्तिमा समूहले आन्दोलनको क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको यात्रामा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
‘यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो,’चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।’
समूहले सबै सहिद परिवारहरूसँग सम्पर्कमा रहेको जानकारी गराउँदै उक्त प्रक्रियामा सहयोग गर्न चाहनेहरूलाई कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
चौधरी ग्रुपको यो कदमले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको भन्दै विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ।


0 comment