काठमाडौं - पछिल्लो एक सातादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ । पानी पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ ।
यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ । ‘सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ,’ निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने ।
उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताए ।
यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो ट्युबबेल वितरण प्रक्रिाय सुरु गरेको छ ।
निर्देशनालयका अनुसार मधेस प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टरमा धानखेती हुने गरेको छ ।
महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत
यसैबीच महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशतमुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो ।
साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो । हिजो (बिहीबार) साउन चौथो साता सुरु हुन्जेलसम्म रोपाइँ ५७ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।
‘साउन तेस्रो साता प्रारम्भसँगै पानी पर्न थालेपछि रोपाइँले गति लिएको छ, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्,’ कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्छन्, ‘रोपाइँ आज ६० प्रतिशतको हाराहारी पुगेको छ ।’ साउन मसान्तसम्म यसै गतिमा रोपाइँ बढ्नसक्दा ८० प्रतिशत नाघ्ने कार्यालयको अड्कल छ ।
साउन मध्ययता इनार, स्यालोट्युबबेल र डिपबोरिङबाट तानिएको पानीले आकासे पानीको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै खेत हिल्याउन सहयोग पुगेको किसानले बताएका छन् ।
‘परेकै पानीले खेत हिल्याउन त पुग्थेन, तर पानी परिरहँदा चाँडै खेत हिल्याउन सजिलो भयो,’ भंगाहा ३ कटैयाकी किसान रामराजी यादव भन्छन्, ‘हाम्रो बस्तीमा लगभग धान रोपाइँ सकिएको छ ।’ साउन १५ यता दिनहुँजसो पानी पर्दै आएपछि धाँजा फाटेको खेतको रोपो पनि लहलहाएको यादव बताउँछन् ।
साउन तेस्रो साता सुरु भएयता त्यसअघिको रोपोलाई परेकै पानीले सास भरेको किसान बताउँछन् । ‘रोपाइँ गर्नचाहिँ अझै हामी इनार, डिपबोरिङबाट पानी तान्दै छौं, तर पहिलेको रोपोलाई भने परेकै पानीले पुगेको छ,’ बर्दिबास ७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्छन्, ‘पुरानो रोपो लहलहाउन थालेपछि धान भित्रिने आश जागेको छ ।’
जिल्लामा कुल खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यसमध्ये हिजोसम्म २५ हजार ७०० हेक्टरमा धान रोपिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यो रोपाइँ ५७ प्रतिशतभन्दा केही बढी हो । अहिले पनि किसान रोपाइँमा धसिएका छन् ।
अबका दिन वर्षाअनुकूल रहे साउन मसानतसम्म रोपाइँ ८० प्रतिशत नाघ्ने बाली विज्ञसमेत रहेका कार्यालयका सूचना अधिकारी महतो बताउँछन् ।
यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बिउ रोप किसान अझै रोप्दै छन् । यसपालि ब्याडमै कैयौंचोटि बिउ सुक्दा पटक-पटक ब्याड राख्नुपरेको औरही ७ भोइलका किसान मोहन महतो बताउँछन् । अब अहिले पानीको केही अनुकूलता हुँदा बिउ भने अपुग बन्दै गएको महतोको भनाइ छ । महोत्तरीसहित मधेसमा हिउँदे धान लगाउने स्थापित तालिका यसपालि मुख्यत: पानीको अभाव र समयमा भरपर्दो बिउ नभेटिँदापछि परेको हो ।


0 comment