काठमाडौं - सुदूरपश्चिम प्रदेशका कैलाली सहितका जिल्लामा खडेरीले धानबाली प्रभावित हुन थालेको छ ।

मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा खडेरी देखिएको हो ।

पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् । 
पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेको जनाउँदै किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।

बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरिएपनि दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा देखिएको खडेरीले रोपेको धान सुक्न लागेको छ ।

साउन महिनाको ९ गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्ण रूपमा सक्रिय हुन सकिरहेको छैन । मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सञ्जय साहले भने गएको असार १६ गते धनगढी क्षेत्रमा २१२ दशमलव दुई मिलिमिटर वर्षा मापन भएकामा त्यसयता ठूलो वर्षा हुन सकिरहेको छैन ।

कार्यालयका प्रमुख साहले जलवायु परिवर्तनको असरका कारण मनसुन पूर्ण रूपमा सक्रिय हुन नसक्ने जस्ता समस्या देखिन थालेको बताए । पर्याप्त पानी अभावमा रोपाइँ गरिएको खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने जोखिम बढेको कृषि प्राविधिकले बताएका छन् ।  

जलवायु परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने,वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने,बेमौसमा चक्रवात र आँधीबेरी देखिने जस्ता समस्या बढ्न थालेको बताइन्छ ।  
    
उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

पछिल्लो दुई हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । बढेको गर्मीले दैनिक काम गर्न र हिँड्डुल गर्न असहज बनेपछि जनजीवन कष्टकर बनेको हो ।

उकुसमुकुस र छट्पटिने गर्मी बढ्दा रातिको समयमा समेत अनिदो बस्नुपर्ने बाध्यता आएको स्थानीयवासीले बताएका छन् ।

बढेको गर्मीले मजदुरी गरेर जीविका चलाउने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित गरेको छ ।