काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

शुक्रबार राति घरबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । 

उनलाई हिजो राति जिल्ला प्रहरी परिसर, काठमाडौँकै हिरासतमा राखिएको थियो ।

सहकारी ठगीको मुद्दा खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा बाहिरै बसेर मुद्दा लड्ने आदेश दिएको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले लामिछानेलाई सोमबार मात्रै अदालतमा पेस गरिने रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए।