काठमाडौं - यो साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से ४१.४३ अंकले बढेर २,६६३.३० को विन्दुमा कायम भएको छ ।

आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता सेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री भए । जसअनुसार पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

व्यापार समूहको उपसूचक सबैभन्दा बढी ६.९ प्रतिशतले बढेको छ । बैंकिङ ०.९०, विकास बैंक १.१०, वित्त १.३०, होटेल तथा पर्यटन ०.४४, जलविद्युत् १.०९ र लगानी समूह २.२० प्रतिशतले बढेको छ ।

त्यस्तै जीवन बिमा १.७१, उत्पादन तथा प्रशोधन ०.९२, लघुवित्त २.२२, म्युचुअल फन्ड ०.३७, निर्जीवन बिमा ०.८५ र अन्य समूह १.७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको सेयर मूल्य १.८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन री-इन्स्योरेन्स लिमिटेडको  ५१ करोड १८ लाख १७ हजार सात सय १४ रुपैयाँबराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता सेयर किनबेच भए ।