अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिने म्याद सात दिन थप गरेको छ ।  अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले आइतबारदेखि सात दिन म्याद थपेको हो । 

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले गत साता छनोट समिति गठन गरेको थियो ।म्याद थप भए अनुसार अब उक्त पदका लागि फागुन २५ सम्म आवेदन दिन सकिनेछ ।

नेप्सेको सीईओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको, पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ।  गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।