काठमाडौं- नेपाल राष्ट्र बैंकले चार अर्ब ७९ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका नाममा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो ।
विभिन्न कोषमा रहेको रकम ३६६ दिने मुद्दतीका रुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाइ छ ।
रकम लगानीको अवधि १२ मार्च २०२५ देखि १२ मार्च २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही फागुन २० गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार लगानीका लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि तीन अर्ब २० करोड ६५ लाख, विकास बैंकहरुका लागि ६० करोड ११ लाख र फाइनान्स कम्पनीका लागि २० करोड तीन लाख रुपैयाँ तोकिएको छ ।
रकम लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेलगायत प्रावधान तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


0 comment