काठमाडौं - सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई सार्वजनिक बिदाको दिन पनि फुर्सद छैन । 

उनिहरु ‘रामपुर हाइब्रिड- १०’ मकैको बीउ उत्पादनका लागि खेतमै खटिरहेका देखिन्छन् । गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो । 

यसका लागि भाले प्रजनन लाइन (आरएमएल १८) र पोथी प्रजनन लाइन (आरएमएल १५०) छरिएको छ । मङ्सिरको पहिलो हप्तामा छरिएका बीउ अहिले जवान बोटमा परिणत भइसकेका छन् ।  

यसका साथै पोथी प्रजनन लाइनमा उम्रिएका ‘धानचमरा’ हटाउनुपर्ने छ । हाइब्रिड मकैको बीउ उत्पादन गर्दा भाले लाइनको मात्रै परागसेचन आवश्यकता पर्छ, त्यसैले पोथी प्रजनन लाइनमा उम्रिएका धानचमरा हटाउनुपर्छ । मकैको भाले फूललाई धानचमरा भनिन्छ ।

निश्चित समयभित्र पोथी लाइनमा उम्रिएका धानचमरा हटाइसक्नु पर्ने भएकाले कृषिका कर्मचारीहरू यस कार्यमा सार्वजनिक बिदाको समेत प्रवाह नगरी जुटेका हुन् । सो कार्य गर्न मकैका लहलहाउँदा बोटहरूले उनीहरूलाई उत्साहित बनाएको छ । 

कर्मचारीहरूका अनुसार धानचमरा हटाउँदा विशेष सावधानी अपनाउनु पर्छ । बाँया हातले धानचमराको फेद बलियो गरी समातेर दायाँ हातले एकै झट्कामा थुत्नुपर्छ । थुतिएका धानचमरा तुरुन्तै बोरा वा थैलामा राखेर त्यसको व्यवस्थापन गर्नुपर्छ । 

‘रामपुर हाइब्रिड- १०’ मकैको बीउमा उत्पादन क्षमता राम्रो हुने भएकाले यसको बीउ उत्पादन गरी स्थानीय किसानलाई वितरण गर्ने योजना छ । यसले सिन्धुली जिल्लालाई नै मकै उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताए ।