काठमाडौं - नेपाल राष्ट्र बैंकले दुई अर्ब ५५ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धतीको रुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको अवधि २०८१ माघ ६ गते देखि २०८२ माघ ६ गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले यही माघ दुई गते बुधबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याइएको कुल रकम मध्ये बाणिज्य बैंकहरुको लागि दुई अर्ब चार करोड, बिकास बैंकहरुको लागि ३८ करोड २५ लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड ७५ लाख रुपैयाँ तोकिएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


0 comment