अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका- ५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले कर्णालीमा उत्पादित अदुवा र बेसार युरोप निर्यात गर्न थालेको छ । 

उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ  । पहिला स्थानीय किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछी बजारको समस्या समाधान भएको हो ।

कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन् । किसानको उत्पादन खरिद गरेर विदेश निर्यात गर्न थालेको उनको भनाइ छ ।

उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ  । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ । 

चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ । 

सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् ।

बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताइन् ।