काठमाडौं - म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । 

तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो । 

दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछी किसानहरू परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् ।

सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर स्थानीय सुन्तला खेतीमा लागेका छन् । 

समूहका अध्यक्षसमेत रहनुभएका पाइजाले गत वर्ष गाउँबाट रु ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिनुभयो । 

अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको र व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका पाइजाले बताउनुभयो ।

सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरूको भनाइ छ । 

बेनी नगरपालिका- ३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।