काठमाडौं - जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । 

कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्लाको स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् । 

स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई किसानले माग गरेका चन्दननाथ नगरपालिका- ४ किसान नारायण चौलागाईँले बताउनुभयो । 

किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरूपता कायम नभएको उहाँको गुनासो छ । उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए । 

प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न  कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका- २ का किसान रत्नबहादुर भण्डारीले बताउनुभयो । वास्तविक किसानले अनुदान नपाएका उहाँको आरोप छ । 

मुख्यमन्त्री कँडेल समक्ष  किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका छन्। 

जुम्लामा चार हजार चार सय ७५ हेक्टरमा स्याउ खेती हुने गरेको छ । चालु आवमा ६१ करोड ४१ लाख  स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।