काठमाडौं - स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । 

स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भएको र प्रारम्भिक मूल्याङ्कन अनुसार यस वर्ष करिब ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको तर पूरै तथ्याङ्क अझै नआइसकेको जानकारी दिनुभयो ।

यस वर्ष स्याउ फुल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको जनाइएको छ ।

विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

गत वर्ष ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो ।