काठमाडौं - आफूहरूमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेज (बिमान परिचारिका) हरूले विरोध प्रदर्शन गरेका छन् ।
निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’ हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरूले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।
कार्यालय प्रवेश गर्ने मुख्य प्रवेशद्वारमा एयरहोस्टेजहरूले आज बिहान १० बजेदेखि साँढे १२ बजेसम्म धर्ना दिएका हुन्।
झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा कार्यालय प्रमुखसहितका कर्मचारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टि बाँधी प्रदर्शन गरेका थिए ।
आफ्ना मागको सुनुवाइ नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीले बताउनुभयो ।
निगम व्यवस्थापनले भने एयरहोस्टेजको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ ।
सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।


0 comment