काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारतको औपचारिक भ्रमणका क्रममा  ऊर्जा, पूर्वाधार, यातायात र विभिन्न आठ क्षेत्रमा द्विपक्षीय सहकार्यका समझदारी भएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता, विकास परियोजनाको शिलान्यास तथा उद्घाटन र विभिन्न समझदारीपत्रमा हस्ताक्षर गरे।

दिल्ली पुगेकै दिन साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नयाँदिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग करिब २५ मिनेट शिष्टाचार भेटवार्ता गरेका थिए।

सोमबार बिहान राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भवनमा उनको स्वागत गरेका थिए। त्यसपछि शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरेका थिए।

राजघाटमा राखिएको आगन्तुक पुस्तिकामा उनले ‘करुणा नै सबैभन्दा ठूलो शक्ति’ भएको उल्लेख गर्दै गान्धीको सत्य, अहिंसा र सेवाको आदर्शप्रति सम्मान व्यक्त गरेका थिए।

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच एकल तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्ताका क्रममा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेका थिए।

भेटमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथको चन्दन र रुद्राक्षसहितको उपहार प्रदान गरेका थिए। मोदीले शाहलाई विशेष कलशमा राखिएको त्रिवेणीको गंगाजल उपहार दिएका थिए।

भ्रमणका क्रममा नेपाल र भारतले विभिन्न पूर्वाधार तथा विकास परियोजना अघि बढाएका छन्। दुवै देशका प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरेका छन्।

त्यसैगरी भारतको बनबासामा एकीकृत जाँच चौकी, झापामा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण केन्द्र तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास गरिएको छ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण तथा दार्चुला–धार्चुला जोड्ने मोटर चल्ने पक्की पुलको उद्घाटन गरिएको छ।

यसैगरी, नेपालका जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको पनि दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।

यसैगरी प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार, दिगो सहरी विकास तथा पशुपन्छी र मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो।

यसअन्तर्गत नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटीबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ। त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य गर्ने सहमति भएको छ।

निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत समझदारी भएको छ। यसले सरकारी कर्मचारीको दक्षता र प्रशासनिक क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने सम्झौता भएको छ।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीच भएका सम्झौता तथा समझदारीलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए।उनले द्विपक्षीय सहकार्यले युवाहरूका लागि रोजगारी, विद्यार्थीका लागि नयाँ अवसर तथा उद्यमी र व्यवसायीका लागि बजार विस्तार र लगानीका ठोस सम्भावना सिर्जना गर्नुपर्ने धारणा राखेका थिए।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्ध अटुट विश्वासमा आधारित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गरेको दृष्टिकोणको प्रशंसा गरेका थिए।  मोदीले नेपालको विकास तथा हालैको बाढीपहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास प्याकेज घोषणा गरे। संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त घोषणा गरेका हुन्।

भ्रमणको अन्तिम औपचारिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गरे। त्यसपछि उनी नेपाल एयरलाइन्सको उडानमार्फत सोमबार साँझ स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाहको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए। निजी क्षेत्रका ५२ जना व्यवसायी तथा पत्रकार पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका थिए।