काठमाडौं - हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै  मंगलबारदेखि उक्त सडकमा १२ दिन सवारी आउजाउमा रोक लगाएको हो ।

दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्ने सवारी आवागमनमा रोक लगाएको सूचनामा उल्लेख छ । नगर प्रमुख मोहन बस्नेतका अनुसार कालोपत्रे कार्य अगाडि बढाउनका लागि उक्त सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई असोज ८ गतेदेखि १९ गतेसम्म (१२ दिन) रोक लगाइएको हो ।

नगरपालिकाले उक्त सडक बन्द भएकाले सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।

उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजनाअन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।