काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोलमा प्रतिलिटर चार रुपैयाँले मुल्य घटेको हो ।
भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले गएराति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार फरक फरक लागू हुनेछ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको १५६ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य १४६ रुपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको १४८ रुपैयाँ पर्नेछ ।
यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा भने पेट्रोलको मूल्य १५९ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य १४९ रुपैयाँ प्रतिलिटर पर्नेछ ।


0 comment