काठमाडौं - पश्चिम नवलपरासीमा नियमविपरीत औषधि पसल सञ्चालन भएको पाइएपछि कारबाही गर्न थालिएको छ । 

जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो ।

अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । 

जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको अनुगमनका क्रममा पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । 
दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको छ । समिता मेडिकललाई १० हजार र सन मेडिकल हललाई दुई हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।

दुवै पसललाई सात दिनभित्र आवश्यक कागजपत्र लिएर जिल्ला प्रशासनमा जान निर्देशन दिइएको र कागजपत्र बुझाउन नसके पसल सिल गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिनुभयो । 

जिल्लामा एक सय ५० औषधि पसल औषधि विभागमा दर्ता भएर सञ्चालनमा छन् ।

६० वटा औषधी पसल बिना दर्ता सञ्चालनमा रहेको जानकारी आएकाले क्रमशः अनुगमन गरेर कानुनी दायरामा ल्याइने स्वास्थ्य कार्यालयले जनाएको छ ।