काठमाडौं - रामेछापको दोरम्बा सैलुङ गाउँपालिका- ३ टोकरपुर स्थित लेखखर्कमा पहिरोले बस्ती बगाउँदा हराएका मध्ये ६ जनाको शव भेटिएको छ ।
अविरल वर्षापछि शनिवार राति गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये अहिले सम्म ६ जनाको शव भेटिएको हो हो भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
बाकी ४ जनाको खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका- ३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिनुभयो ।
अहिले सम्म भिम बहादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा सैलुङ गाउँपालिका- ३ लेखखर्ककी ३० वर्षकी चण्डिका श्रेष्ठ उनका १८ महिनाको छोराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
त्यसै गरी ५७ वर्षकी उर्मिला पहरी सहित ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
अहिले काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको उहाँले बताउनुभयो ।
अविरल वर्षपछिको बढी पहिरोले गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिम पाइप बगाएको स्थानीयले बताएका छन् ।


0 comment