काठमाडौं - कैलालीको चुरे गाउँपालिका- ४ भएर बग्ने कालेखोलामा पुल नहुँदा स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । 

वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिमा रहेका समैजी आधारभूत विद्यालय जाने गरेका हुन्। 

कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । 

विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । ठूलो पानी पर्नेबित्तिकै कतिपय बालबालिका स्कुल नै जादैनन् ।

गाउँलेहरूले वर्षौँदेखि काले खोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताउनुभयो ।

चुरे- ४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।