काठमाडौं - संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ।

उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम बिदाइ गरेका थिए। यसैगरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए। अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेम्वाङलाई राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो। नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो।

अन्त्येष्टिअघि बालुवाटारबाट शिक्षण अस्पताल-महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चाबहिल-गौशाला हुँदै पशुपति आर्यघाटसम्म नेम्वाङको शवयात्रा निकालिएको थियो।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि उपचारका लागी महाराजगञ्जस्थित टिचिङ अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो।

बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर त्यसपछि बालुवाटारस्थित निवासमा लगिएको थियो।

पूर्वसभामुख समेत रहेका नेम्वाङको निधनमा आज सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार शोक बिदा दिएको छ।