काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका निवर्तमान प्रहरी प्रमुख दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ।

प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको जिकिर गर्दै कार्कीले दायर गर्नुभएको रिटमाथि आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि पेसी तोकिएको थियो। तर, सुनुवाइ स्थगित भएसँगै अदालत प्रशासनले अर्को पेसी तोक्ने भएको छ।

यसअघि गत बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागबमोजिम तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। साथै, इजलासले अन्तरिम आदेशबारे निर्णय लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी डा. मनोज केसीसहित दुवै पक्षलाई आजको छलफलमा झिकाउने आदेश दिएको थियो।

मन्त्रिपरिषद्को गत कात्तिक १८ गतेको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै एआईजी डा. मनोज केसीलाई नयाँ आईजीपीमा बढुवा गरेको थियो। सोही निर्णयविरुद्ध कार्की कात्तिक २० गते सर्वोच्च अदालत पुगेका हुन्।