काठमाडौं — ललितपुर महानगरपालिका वडा नं २२ ले वडा क्षेत्रमा सञ्चालित इँट्टा उद्योगहरुमा बालश्रम अनुगमन गरेको छ । बालश्रममुक्त वडा घोषणा पश्चात पहिलो पटक उद्योगमा बालश्रम अनुगमन वडा स्तरीय बालअधिकार समिति बालक्लव सञ्जाल वडा जनप्रतिनिधि सहयोगी संघ संस्थाको सहभागितामा बालश्रम अनुगमन भएको हो । इँट्टा उद्योगमा कामदारहरु धमाधम आउन थालेपछि वडाले बालश्रम प्रयोग नगर्न उद्योगीहरुलाई सचेत समेत गराएको छ । 

वडाले सबै २२ नंबर क्षेत्रका ४ वटा इँट्टा उद्योग हिरा, यूके, नेवा र ओमश्रीमा विगतदेखि नै सञ्चालन हुँदै आएको दिवा शिशु स्याहार केन्द्र पनि यस वर्ष निरन्तर सञ्चालन गर्नका लागि उद्योगी तथा नाइकेहरुसँग अनुगमनकै क्रममा छलफल भएको वडा स्तरीय बालअधिकार समिति संयोजक तथा वडा सदस्य जुनु मिजारले बताउनु भयो । सबै इँट्टा उद्योगहरुमा बालश्रम अनुगमन गरिएको र कतैपनि बालबालिकालाई श्रममा लगाइएको पाइएन र अव श्रमिक परिवारहरु गाँउबाट उद्योगमा काम गर्न आउने क्रम सुरु भएको हुँदा उद्योगी तथा नाइकेहरुलाई सचेत गराउन पनि यो अनुगमन गरिएको संयोजक मिजारले बताउनु भयो । 

इँट्टा उद्योगमा ६ महिना काम हुने र अव उद्योगको सिजन सुरु भएको हुनाले विशेषगरी रोल्पा, दाङ, सिन्धुली, उदयपुर, सल्यान, रुकुम, काभ्रे, मकवानपुर लगायतका जिल्लाबाट सिङगो परिवार उद्योगमा श्रम गर्न आउने गर्छन । यसैलाई ध्यानमा राखेर परिवारसँग उद्योगमा आएका बालबालिकाहरुलाई पनि नजिकैको विद्यालयमा भर्ना गरी अध्ययनका लागि सहजीकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि हामीले विभिन्न संस्थाहरुको समन्वयमा पहल गर्छौ वडा सचिव रामहरी कडेलले बताउनु भयो । अनुगमनको लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग रहेको थियो । ललितपुर महानगरपालिका २२ बालश्रममुक्त वडा घोषणा भइसकेको छ ।