काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी  दिइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो दुईदिने राजकीय भारत भ्रमणमा जाँदै छन् ।  उनी प्रधानमन्त्री भएपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भने समकक्षी नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय र एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरेर सोमबार साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।