काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक मुद्दालाई न्यायिक क्षेत्रमा प्रवेश गराउन न हुन बताएका छन् । 

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले अहिलेको मुलुकको संसदीय प्रणालीमा पुर्नविचार आवश्यक रहेको धारणा राखेका हुन् साथै मुलुकमा अहिलेको अवस्था आउनुमा संसदीय प्रणाली दोषी रहेको बताएका छन् ।

हामीले अभ्यास गरिरहेको संसदीय व्यवस्थामा पुर्नविचार गर्न आवश्यक रहेको भन्दै यसकै ‘डिफेक्ट’ले जटिल अवस्था सृजना भएको यादवले बताएका छन् । कोसी प्रदेश सरकारलाई स्थायित्व दिन प्रमुख राजनीतिक दलहरू जिम्मेवार रहेको उल्लेख समेत गरेका छन् । 

प्रदेशमा कुनैपनि दलको स्पष्ट बहुमत नभएका कारण सरकार नै अन्योलपूर्ण बन्दै गरेको स्वीकार गर्दै उनले प्रदेशको समस्या समाधानमा दलहरूबीच आपसी सहमति र सहकार्य आवश्यक रहेको बताएका छन्  । 

प्रदेशमा जनताको उन्नति,आर्थिक विकास र समृद्धिका लागि दलहरूबीचमा आपसी सहमति एवं सहकार्य आवश्यक रहेको यादवको भनाइ छ । संसदीय व्यवस्थामा बहुमत हुने दलले सरकार चलाउने र नहुँदा मध्यावधिमा जानुपर्ने थियो तर यी दुवै कुरा कोसी प्रदेशमा हुन न सकेको यादवले बताएका छन् । राजनीतिक मुद्दाले न्यायिक क्षेत्रमा स्थान पाउनु आफैमा दुःखद् भएको उनको भनाइ रहेको छ । 

राजनीतिक मुद्दाहरुले न्यायिक क्षेत्रमा प्रवेश पाउनु हुँदैन । दल तथा नेताहरूले नै यस्को समाधान खोज्नु पर्ने र मुलुकको निर्वाचन प्रणाली र संसदीय व्यवस्थामाथि दोष थोपर्दै उनले अहिलेको शासकीय स्वरुप, निर्वाचन प्रणाली र संसदीय संरचना फेरबदल गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।