काठमाडौं - विराटनगर महानगरपालिकाले आजदेखि भारतबाट खरिद गरेर ल्याइएका सबै सामानको भन्सार महसुल अनिवार्य बुझाउनुपर्ने नियम लागू गरेको छ । 

यसअघि घरायसी प्रयोजनका लागि थोरै परिमाणमा ल्याइने सामानमा भन्सार महसुल लिने गरिएको थिएन । व्यापारिक प्रयोजनका सामानमा मात्रै भन्सार शुल्क लिने गरिएको थियो । थोरै परिणामको मरमसला, ५ किलोसम्म चिनी, ५० किलोसम्म चामल, केही पिस कपडालगायत घरसायी प्रयोजनका लागि ल्याउने गरिएका सामान नेपाली उपभोक्ताले भारतबाट भन्सार नतिरिकन ल्याउन पाउँथे । थोरै परिणामको सामानमा भन्सार छुट दिने गरिएको थियो । 

नेपालमा भन्दा भारतीय बजारमा सामान सस्तो पाइने भन्दै घरायसी प्रयोजनका लागि भनेर सीमा पारिको जोगवनी बजारमा किनमेलका लागि जाने नेपालीको घुइँचो लाग्ने गरेको थियो । सीमा वारिका बजार भने सुनसान हुन्थे । नेपाली बजारको व्यापार खस्किएको थियो । 

घरयासी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वेदशी बजार प्रभावित बनेसँगै सीमा नाकामा कडाइ गरिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । स्थानीय बजार प्रवर्द्धनका लागि यस्तो कदम चालिएको कोइराला बताउँछन् ।  अब बिना भन्सारका सामान विराटनगर भित्रिन नदिने उनको भनाइ छ । जोगवनी नगएर विराटनगरमै सामान खरिद गर्न महानगरबासीलाई अपिलसमेत गरिएको छ ।

महानगर, भन्सार कार्यालय र प्रहरीको सक्रियतामा केही दिनयता किनमेलका लागि भारतीय बजार जान कडाइ गर्ने विषयमा माइकिङ तथा प्रचार समेत गरिएको थियो ।