काठमाडौं – नक्कली नागरिकता लिएको आरोपमा एक उपमेयर पक्राउ परेकी छिन् ।
यसरी पक्राउ पर्नेमा, सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव रहेको प्रहरीले जानकारी दिएको छ । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा उनी पक्राउ परेको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।
उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न. ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीमा पुगेका थिए । तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।
उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो ।
बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको कार्कीले बताएका छन् । उनको पतिको खोजविन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।
मिरालाई प्रहरीले नियन्त्रणमा लीई नागरिकता सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको एसपी कार्कीले बताएका छन् ।


0 comment