काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले दिएको जानकारी अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको छ, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको छ । कुनैपनी प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताएका छन् ।
गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका सामुदायिक ४ लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा २ लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार ६ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी रहेका छन ।
बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।


0 comment