काठमाडौं – प्रहरीका सई र इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । 

यसरी पक्राउ पर्नेमा, जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव रहेका छन् । 

विष्टलाई भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले  पक्राउ गरेको हो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिबानाको मागदाबी गर्दै आज बुधवार विशेष अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

यसैगरी, रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पीसीसी र ग्राभेल गर्ने कामको नापजाँचपछि सेवाग्राहीसँग घुस मागेको र सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।