काठमाडौं – समाजवादी मोर्चा घोषणाको लागि बालुवाटारमा बैठक बसी रहेको छ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने गरी छलफल भइरहेको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन् । असार १ गते समाजवादी मोर्चा गठनको घोषणा गर्ने भनेपनि आन्तरिक तयारी नपुगेको भन्दै घोषणा भएको थिएन। सम्भवत, आज या भोलि मोर्चा घोषणा हुने नेताहरुले बताएका छन् ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चा एमाले विरुद्ध मुकाबिला गर्न बनाउन खोजेको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका साना दल मिलेर बन्न लागेको समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् ।
इतबार बिहान समाजवादी मोर्चाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लब लगायतका नेताहरुबीच बालुवाटारमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । साथै उनीहरुबीचको छलफल पश्चात समाजवादी मोर्चा मोडालिटी, आगामी रणनीति र घोषणालाई अन्तिम रुप दिइने जानकारी दिए ।

0 comment