काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

जितसँगै चर्च ब्वाइजले दोस्रो स्थानको जावलाखेल युथ क्लबमाथि चार अंकको अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइजका लागि मिलन राईले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । त्यही गोल चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

बी डिभिजनको च्याम्पियन बन्दै पहिलो पटक शीर्ष डिभिजनको फुटबल खेलिरहेको चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै १९ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानको जावलाखेलको समान खेलबाट ३२ अंक छ । समान खेलबाट २२ अंक जोडेको पुलिस १२औं स्थानमा छ।

त्यसैगरी आजै भएको अर्को खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी फुटबल क्लबले २–२ गोलको बराबरी खेलका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १४औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। खुमलटारका मेसुके ओलोमोउले ३५औं मिनेटमा गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा ल्याए। ५१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलसँगै आर्मीले २–१ को अग्रता लियो। तर, खुमलटारका स्टेफन बिनोङले ७५औं मिनेटमा गोल गरेसँगै खुमलटारले आर्मीसँग अंक बाँड्यो।

बराबरीसँगै आर्मी १९ खेलबाट २६ अंक जोडेर छैठौँ स्थानमा छ। १९ खेलबाट १८ अंकसहित खुमलटार लिग तालिकाको पुछारमा छ।

आजै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई ३–२ गोलको नतिजामा पराजित गरेको छ।

शेर्पाका लागि खमिर घलान, पिस्टोन मुताम्बा र अबायोमी फाकुनलीले एक–एक गोल गरे। यस्तै, एपीएफका लागि सनिश श्रेष्ठ र युवराज खड्काले गोल गरे।

जितसँगै १९ खेलबाट २५ अंक जोडेको हिमालयन शेर्पा लिग तालिकाको सातौं स्थानमा छ। समान खेलबाट २२ अंक जोडेको एपीएफ १०औँ स्थानमा झरेको छ।