काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंले करीब दश करोड रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ घर भएका ४३ वर्षीय कृष्णमुरारी गुरुङ रहेका छन् ।  गुरुङले विभिन्न प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाईएको छ ।

गुरूङले विभिन्न मिति र समयमा विशेष अदालतबाट आफ्नो सम्पत्तिहरू रोक्का भएको तथा मुद्दा परेकोले मुद्दा मिलाउन र आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै एक जना पीडितलाई ठगी गरेका थिए ।

गुरुङले ती व्यक्तिबाट ७ करोड ७५ लाख रुपैयाँ, २० तोला सुन र अर्का एक जना पीडितबाट ३० लाख रुपैयाँ ठगी गरेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले जनाए । गुरूङले आफूसँग रहेको गाडी बिक्रीमा रहेको, बैंकमा २० लाख रुपैयाँ ऋण तिरेपछि बैंकले उक्त गाडी आफ्नो नाममा पास गरी दिने र उक्त गाडी पीडितलाई खरिद गर्न दिने भन्दै विश्वासमा पारी अर्की महिलाबाट समेत २० लाख रुपैयाँ ठगी गरी फरार भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री र ठूला बदमासहरू पक्राउ परेका बेला अर्का ठूला ठग पनि पक्राउ परेका छन् ।

गुरुङ उपर ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।