काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसबीच भेटवार्ता भएको छ ।
दातृ निकायसँग चलिरहेको चरणबद्ध छलफलका क्रममा बुधबार बिहान अर्थमन्त्रालयमा भएको भेटवार्तामा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको अर्थमन्त्री डा. महतले जानकारी दिए ।
उनले भने, 'दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेकोबारे उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको छ । विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन् । यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार छन् ।’
विश्व बैंकका प्रतिनिधिले पनि अनुदान र सफ्ट लोन दिएर जलविद्युत र सडक निर्माणमा सहयोग गर्न चाहेको डा. महतले बताए । नेपालमा देखिएको आर्थिक समस्याबारे चिन्तित रहेका दातृ निकायले यो समस्या चाँडै समाधान होस् भन्ने चाहेको उनले बताए । मंगलबार अर्थमन्त्री डा. महतले विश्व बैंकको प्रतिनिधिमण्डल भेट गरेका थिए ।


0 comment