काठमाडौं - नेपाल टेलिकमले खनेर अलपत्र छाडिएका वीरगन्जको बाइपास सडक र फुटपाथ मर्मत गर्न सुरु गरेको छ।

वीरगन्जको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछ्याउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले महानगरबाट संकलित ७ ट्याक्टर फोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालय परिसरभित्रै लगेर फालिदिएको थियो। महानगरको उक्त कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानैदेखि मर्मत गर्न थालेको वीरगन्जका मेयर राजेशमान सिंहले बताए। 

महानगरले सांकेतिक विरोध जनाएपछि मंगलबार नै टेलिकम प्रादेशिक कार्यालयका प्रमुख अनन्त प्रकाश मल्लिकले महानगरको कार्यालयमै पुगेर सडक र फुटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ भित्रै पूरा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए। 

मल्लिकका अनुसार बाइपास सडकखण्ड अन्तर्गत गण्डक चोकदेखि रजतजयन्ति चोकसम्मको क्षेत्रमा ३ सय मिटरको मात्रै फुटपाथ मर्मत गर्न बाँकी रहेको छ। उक्त कार्य चैत २७ भित्र सक्ने गरी मर्मतको ठेक्का सकारेको पाइनस-बनके जेभी कन्ट्रक्सनले लिखित रुपमा प्रतिबद्धता जनाएको जानकारी पनि मल्लिकले महानगरपालिकाको कार्यालयलाई गराएका छन्। त्यही प्रतिबद्धता अनुसार रोकिएको मर्मत कार्य बुधबार बिहानैदेखि सुरु पनि गरिसकिएको मल्लिकले बताए। 

टेलिकमले सडक र फुटपाथ मर्मतको काम सुरु गरेपछि महानगरले टेलिकम परिसरभित्र थुपारेको फोहोर बुधबार बिहानैदेखि हटाएको छ।

सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि टेलिकमले अटेरी गरेपछि बाध्य भएर मंगलबार बिहान टेलिकम परिसरमा फोहोर फाल्नु परेको महानगरले बतायो। महानगरका अनुसार गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएपनि टेलिकमले अटेरी गर्दै आएको थियो।